२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

नेकपा शुक्लाफाँटाका आजदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित १ महिना अघि
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लाफाँटाले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आजबिहीबारदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको ८३ औँ बैठकले आफ्ना मागहरुलाई सम्बोधन हुने गरि निर्णय गरेपछि आन्दोलनका कार्यक्रम तत्कालकालागीस्थगित गरिएको अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेको छ ।

     

    शुक्लाफाँटा नगरपालिकामा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) बुधबार बिहान नगरपालिका घेराउ गरेको थियो । खप्तड शिक्षा सदन नामको फर्जी विद्यालयलाई स्थानान्तरण सहमति दिएको विषयमा छानवीन समितिको प्रतिवेदनले दोषी देखाएका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टलाई कारवाही गर्नुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्ने, क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने र छाडा गाईगोरु व्यवस्थापनको नाममा भएको खर्च विवरण माग गर्दै विभिन्न नारावाजी सहित नेकपाले नगरपालिका घेराउ गरेको थियो ।

     

    नेकपा शुक्लाफाँटा नगर कमिटी अध्यक्ष भक्तराज जोशीको नेतृत्वमा आएको समूहले कार्यपालिका वैठकको निर्णय कार्यान्वयन हुनुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्ने र शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टलाई कार्वाही गर्नुपर्ने माग गर्दै नारावाजी गरेको थियो । यस्तै छानवीन समितिको प्रतिवेदनले दोषी देखाइएका व्यक्तिहरुलाई कार्वाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो ।
    पार्टी कार्यालयबाट विभिन्न नाराबाजी सहित नगरपालिका पुगेर सो समूह कोणसभामा परिणत भएको थियो ।

     

    कोणसभालाई सम्बोधन गर्दै नेकपा संघीय निर्वाचन क्षेत्र नं.२ कञ्चनपुरका इञ्चार्ज रण बहादुर महराले किर्ते कागज खडा गरि विद्यालय खरिदबिक्रीमा नगरप्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टको संलग्नता देखिएपछि पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे । यस्तै उनले कर्मचारी भर्नाको सन्दर्भमा र क्वारेन्टिन व्यवस्थापनमा भएको हिसाब लगायतका विषयमा भएको अनियमितताको सत्यतथ्य जनतासामु ल्याउने र दोषी जोसुकै भए कार्वाही गराएर देखाउने बताए ।

     

    यस्तै नगर कमिटी अध्यक्ष भक्त राज जोशीले विषम परिस्थितिमा आन्दोलन गर्नु उचित नभएको तरपनि नगरपालिकाको वेथिति सहन नसकी त्यसका विरुद्ध बोल्न आफूहरु बाध्य भएको बताउँदै भौतिक दुरी कायम गरि चरणबद्ध रुपमा बिहीबारदेखि आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । त्यसैगरि कोणसभालाई सम्बोधन गर्दै वडा नं. ८ का वडाध्यक्ष बहादुर सिंह महराले नेकपाको आन्दोलन नगरपालिकाको अनियमितताको विरुद्ध भएको बताउँदै उनले नगरभित्र भएका अनियमितताको सत्यतथ्य जनतासामु ल्याउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । खप्तड शिक्षा सदन नामको विद्यालयलाई शुक्लाफाँटा नगरपालिकाले बेलौरी नगरपालिकामा स्थानान्तरण सहमति दिएपछि सो विषय विवादित हुँदा नगरमा नियमित जसो संघर्षका कार्यक्रम हुँदै आएका छन् ।

    शुक्लाफाँटा नगरपालिका कार्यपालिकाको वैठकले नगर  प्रमुखले आत्मालोचना गर्नुपर्ने र भट्टलाई कार्वाही गर्न मन्त्रालयमा फाईल पठाउने निर्णय

    नेकपाले नगरपालिकालाई बुधबार अपराह्न ४ बजेभित्र आफूहरुको मागको सम्बोधन गर्न अल्टिमेटम दिएपछि नगर कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदन सम्बन्धमा दुईवटा निर्णय गरेको छ । बुधबार बसेको नगर कार्यपालिका बैठकमा खप्तड शिक्षा सदन सम्बन्धमा नगर प्रमुख दिल बहादुर ऐरको तर्फबाट प्रकृयागत त्रुटि भएकोले उनले आत्मालोचना गरेपछि उनलाई क्षमा दिने निर्णय भएको नगर प्रवक्ता जगत बहादुर सिंहले बताए ।

     

    यस्तै उनका अनुसार सोही सम्बन्धमा दोषी देखिएका नगर शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टलाई निजामति सेवा ऐन अन्तर्गत कार्वाही गरिने भन्ने यसअघिको कार्यपालिकाको निर्णयलाई सदर गर्दै उक्त कार्वाही प्रकृया अघि बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । खप्तड शिक्षा सदनलाई शुक्लाफाँटा नगरपालिकाले स्थानान्तरण सहमति दिएको विषय विवादित भएपछि नगरले छानवीन समिति गठन गरेको थियो । सो छानवीन समितिले नगर प्रमुख ऐर र शिक्षा शाखा प्रमुख भट्टको प्रत्यक्ष संलग्नता रहेको पुष्टि गर्दै कार्यपालिका वैठकमा प्रतिवेदन पेश गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ