२०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020

वनका पूर्व अध्यक्षले घाटगद्दिबाटै काठ चोरे, घटनाको ढाकछोप गर्ने प्रयास

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • कैलालीको एक सामुदायिक वनको घाटगद्दीमा राखिएको ठूलो परिमाणमा काठ चोरी भएको घटना बाहिरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ९ स्थित शिवशंकर सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीमा राखिएको करिब २ सय क्युफिट काठ चोरिएको स्रोतको दाबी छ ।

     

    स्रोतका अनुसार चोरीको घटनामा सोही समुदायिक वनका पुर्व अध्यक्ष महेन्द्र देउवासहित सोही समुहकै चोरीशिकारी नियन्त्रण दलका बल बहादुर बोहराको संलग्नता रहेको पाइएको छ । उनीहरुले  असोज २४ गते राति २ बजेको समयमा घाटगद्दीमा राखिएका सालका गोलिया चोरेका थिए । चोरिएका ती गोलियाहरु ७ फिट लम्बाइका छन् ।

    समूहले महादेव माध्यमिक विद्यालयको चौरमा घाटगद्दी गरेर राखेको थियो । असोज २३ गते बिहान देउवाको समूहले काँचो ठाडो २ वटा सालका रुख ढालेर छोडेपछि समुहले बेवारिसे भन्दै संकलन गरेर समितिको मातहतमा ल्याएको थियो । तर राती ती काठका गोलिया वल बहादुर बोहरा र जीत बहादुर देउवाको ट्याक्टर प्रयोग गरेर चोरी गरिएको स्रोतको दाबी छ ।

    सो घटनालाई स्थानीय स्तरमै मिलाउने प्रयास गरिएको छ । भने काठको यकिन परिमाण अझै खुल्न नसकेको हो । समूहकी अध्यक्ष नन्दा भट्टले घाटगद्दीमा राखिएको १४ वटा गोलियामध्ये ४ वटा गोलिया मात्रै चोरिएको बताइन् ।

     

    समूहका पूर्व अध्यक्ष देउवाको संलग्नता रहेको र देउवाले आफुले नै चोरी गरेको स्वीकार गरेको पुष्ट्याई गर्दै समूहकी अध्यक्ष भट्टले सो काठ फिर्ता ल्याउने र समूहको विधान बमोजिम कारवाही गर्ने समूहको छलफल भएको बताइन् ।

    घटनावारे सव डिभिजन वन कार्यालय मसुरिया र डिभिजन वन कार्यालय कैलालीलाई भने कुनै जानकारी दिइएको छैन । समूहकी अध्यक्ष नन्दा भट्टले विधान बमोजिम समूह पनि स्वायत्त निकाय रहेको दाबी गर्दै हालसम्म सब डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयलाई जानकारी नदिएको उल्लेख गरिन् ।

     

    उता सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुख सचितानन्द सिंहले घटनावारे आफुलाई जानकारी नभएको बताए । घटनावारे छानविन गर्ने उनको भनाइ थियो ।

     

    कोरोना कहरप्रति सबैको ध्यान केन्द्रीत भएको बेला कैलाली जिल्लाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनबाट काठको चोरी तस्कारी बढेको छ । तर सरोकारवाला निकाय भने कोरोना कहर भन्दै प्रभावकारी रुपमा निगरानी बढाउन नसकेको हो ।

    लोकान्तरबाट साभार

    प्रतिक्रिया दिनुहोस


    नयाँ