२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

डोटीमा बालिका बलात्कारपछि हत्या गर्न खोजेको भन्दै उजुरी दर्ता

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरेका छन् ।

    डोटीको जोरायल गाउँपालिका ५ की बालिकालाई अन्दाजी २४ वर्षीय प्रहरी जवान सुशील सिंहले कात्तिक १३ गते राति बलात्कारपछि हत्या प्रयास गरेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

    राति ११ बजे बालिकाको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्यएको अर्धचेत अवस्थामा भेटिएकी थिइन् । ‘राति कोही चिच्चाएको आवाज आयो पीडित बालिकाका बुवाले भने । को रहेछ भनेर गएको त आफ्नै छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले रुखमा झुण्ड्याएको अवस्थामा भेटेको हो । हतारहतार दोपट्टा काटेर आफैंले बचाएँ ।’

    अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेको पीडित बालिकाका बुवाले बताए । उनले भने, ‘न्यायका लागि अस्थायी प्रहरी चौकीमा निवेदन गरें त्यहाँ दर्ता गर्न मानेन । त्यसपछि प्रहरी चौकी जोरायलमा पुगेको हुँ । त्यहाँ पनि केही नलागेपछि अचेत अवस्थामा रहेकी छोरीलाई बोकेर सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गर्न ल्याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् ।’

    बालिकाको घाँटीमा लगाएको फाँसीले घाउ स्पष्ट देखिने उनले बताए । ‘प्रहरीले बालिकालाई कुटपिट गरेको छ । खुट्टामा नीलडाम छन्’ उनले भने । आफूलाई प्रहरी जवानले फोन गर्ने गरेको पीडित बालिकाले बताइन् । ‘म माया गर्छु र तिमीसँग बिहे गर्छु भन्थ्यो’, बालिकाले भनिन्, ‘राति घरमा आएर यो अवस्था बनायो ।’

    प्रहरी चौकीले मुद्धा दर्ता गर्न मानेन

    अस्थायी प्रहरी चौकी गडसेराले बालिका बलात्कारपछि हत्या प्रयासको घटनाको निवेदन गर्दा गर्न नमानेको गुनासो पीडितकी आमाले गरेकी छन् ।

    घटनामा संलग्न प्रहरी जवान सुशील सिंहविरुद्ध पीडित बालिकाका परिवारका सदस्य कात्तिक १४ गते बिहान अस्थायी प्रहरी चौकी गडसेरा पुगेका थिए । अस्थायी प्रहरी चौकी गडसेराका इन्चार्ज चन्द्र भण्डारीले मुद्दा दर्ता गर्न नमानेपछि पीडितहरु निराश भएका थिए । पीडित बालिकाकी आमाले भनिन्, निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर जिल्ला जाउ भनेर फर्कायो ।’

    जिल्ला प्रहरी कार्यालय डोटीद्वारा दबावपछि मुद्दा दर्ता 

    मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय डोटी पुगेका पीडित बालिकाका आफन्तले प्रहरीले मुद्दा दर्तामा आनाकानी गरेको गुनासो गरेका छन् । पीडित पक्षहरुको दबाबपछि बलात्कारपछि हत्या प्रयास गर्ने प्रहरी जवान सुशील सिंहविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्दैन भन्दै थियो पीडित बालिकाका दाइले भने, बल्ल अहिले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।’

    प्रतिक्रिया दिनुहोस


    नयाँ