२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

भोलिको केन्द्रीय समिति बैठकका लागि काँग्रेस शीर्ष नेताबीच बैठक आज

  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपाली काँग्रेसका शीर्ष नेताको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफल हुने नेता एनपी साउदले रातोपाटीलाई जानकारी दिए ।

    पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि मंगलबारलाई स्थगित भएको बैठक आज बस्न लागेको हो । केसीको निधनको शोकमा मंगलबार दिउँसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको थियो ।पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार पनि काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठक विना निष्कर्ष टुंगिएको थियो ।१४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

     

    विभाग गठन–मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका सन्दर्भमा भएका विधानविपरीत  निर्णयहरू भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विरोधमा छ ।पौडेल पक्षले असोज १२ गते उक्त विषय समेटर पार्टी कार्यालयमा ज्ञापनपत्र समेत दर्ता गरेको थियो । सोमबार पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी २७ जनाले हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमाथि छलफल केन्द्रित भएको थियो ।सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गरेका थिए भने असोज १७ गते पनि उक्त विषयमा महामन्त्री पूर्णबहादुर खड्काले पनि बुँदागत व्याख्या गरेका थिए ।

     

    केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि छलफल स्थगित हुँदा विवाद थाति रहेको थियो । अहिले पनि संस्थापनपक्षीय नेताहरूले पौडेल पक्षको ज्ञापनपत्रमाथि प्रष्टिकरण मात्र दिएपछि विवाद समाधान हुन सकेको छैन ।२१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठकअघि विवादित विषय टुङ्ग्याउन छलफलको निरन्तरता स्वरुपमा नेताहरुबीच छलफल भइरहेको छ ।उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काको प्रष्टिकरणबाट इतरपक्ष सन्तुष्ट हुन सकेको छैन ।

     

    सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले पनि विभाग गठन बाहेकका विषयमा मात्र छलफल गर्न तयार रहेको बताएपछि विवाद थप चर्किने देखिएको छ । तर संस्थापन पक्ष नेता साउँदले भने असहमतिका धेरै विषय नरहेको भन्दै आजको बैठकमा सहमति जुट्ने बताए । विभाग बाहेकका विषय सम्झौता गरेर जान सकिने उनको भनाइ छ । आजको बैठकमा सभापति देउवाले आफ्नो धारणा राख्ने बुझिएको छ ।यद्यपि यसअघिका बैठकमा पनि देउवाले बीचबीचमा बोल्दै आफूले सबै काम विधानअनुसार नै गरेको दाबी गरेका थिए । जसलाई पौडेल पक्षले सकारात्मक रुपमा लिएको छैन ।तर आफूले उठाएका विषयमा छिनोफानो नभइ महाधिवेशनको तालिकाका विषयको छलफल हुन नदिने पौडेल पक्षको अडान छ ।

     

    यता संस्थापन पक्ष भने पौडेल पक्षले उठाएका विषय वास्तविक नभइ चुनावी मुद्दा मात्रै रहेको बताउँदै आएको छ । २१ गतेको बैठकको मुल एजेण्डा नै महाधिवेशनको कार्यतालिका रहेको छ ।बैठकका लागि आज सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिँदै छ । विहान ९ बजेबाट दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा पीसीआर परीक्षणको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ