२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

उपभोक्ताको जीवनस्तर सुधार्न सामुदायिक वनका तालमा माछापालन

  • २०७७ मंसिर ४, बिहिबार मा प्रकाशित ६ दिन अघि
  • कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले प्राकृतिक र कृत्रिम तालमा माछापालन सुरु गरेको छ। सामुदायिक वनले विपन्न अवस्थाका उपभोक्ताको आयस्तरमा सुधार ल्याउन माछापालन थालिएको हो। सामुदायिक वनभित्र रहेका १० बिघा क्षेत्रफलमा रहेका दुई वटा पोखरीमा माछा पालिएको हो।

     

    पोखरीमा पाँच लाख विभिन्न प्रजातिका माछाका भुराहरु राखिएका सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले बताए। रोहु, नैनी, कमन, ग्रासलगायत जातका माछाका भुरा तालमा राखिएका छन्।​‘दुई वटा पोखरीमा माछापालन गरी सुरुवात गरेका छौं’, अध्यक्ष महराले भने, ‘सामुदायिक वनमा कृत्रिम रुपमा बनाइएका र प्राकृतिक रुपमा रहेका तालको सुदृढीकरण गरी माछापालनमा नगरपालकालाई नै आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं।’ उनका अनुसार माछापालनबाट उपभोक्ताको आयस्तरमा वृद्धिसँगै जैविक विविधताको संरक्षणमा टेवा पुग्दछ।

     

     

    सामुदायिक वन क्षेत्रका तालबाट उत्पादन हुने माछा बेचेर आउने रकम कोषमा जम्मा गरी उपभोक्ताले गर्न चाहेको व्यवसायका लागि बिनाब्याज रकम परिचालन गर्ने योजना सामुदायिक वनले बनाएको छ। ‘माछापालनले उपभोक्ताको आयस्तरमा वृद्धि हुन्छन नै,ु अध्यक्ष महराले भने, ‘नगर क्षेत्रमा भारतलगायत बाह्य क्षेत्रबाट आउने माछालाई समेत विस्थापन गर्छ।नगरका बासिन्दाले ताजा माछा खान पाउँछन्।’

     

    नगर क्षेत्रमा दैनिक चार क्विन्टल हाराहारीमा माछाको खपत हुने गरेको छ। सामुदायिक वनले दैनिक ६ क्विन्टल माछा उत्पादन गर्ने लक्ष्य लिएको छ। माछापालन र बजारमा लगेर बेच्ने कामको जिम्मा उपभोक्तालाई नै दिइने सामुदायिक वनका सदस्य अकवर धामीले बताए। ताल सफा र संरक्षण गर्ने कार्यसमेत बढाइएको छ।

     

    ताल व्यवस्थापनले वन क्षेत्रमा रहेका जंगली जनावर र चराचुरुंगीलाई पानीको समस्या हुँदैन। ताल सुक्नबाट जोगाउन पानीको स्थायी व्यवस्थाका लागि ठाउँ ठाउँमा डिप बोरिङ गाड्ने योजनासमेत अघि सारिएको छ।

     

    सामुदायिक वनको कार्यालय नजिकका तालका लागि भने सौर्य ऊर्जामा आधारित पम्प जडान गरी पानीको आपूर्तिको कार्य भइरहेको छ। ‘पानी अभावमै वन क्षेत्रमा रहेका जनावर लोप हुने संघारमा पुगेका थिए’, स्थानीय चक्र बहादुर ठगुन्नाले भने, ‘हाल पानीको व्यवस्था हुन थालेपछि वन क्षेत्रमा पहिलेभन्दा बढी जनावर देखा पर्न थालेका छन्।’

    सामुदायिक वनमा माछापालनसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाई उपभोक्ताको आय बढाउनका लागि कार्यक्रम सुरु गर्ने कार्ययोजना निर्माणको कार्यसमेत बढाइएको छ। मणिका धाम, बतासे झर्नालगायत पर्यटकीय क्षेत्रलाई सामुदायि वनसँग जोडेर पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने सामुदायिक वनको योजना छन्। सामुदायिक वनले अपांगता भएका व्यक्तिहरुलाई समेत मासिक रुपमा भत्ताको रकमसमेत उपलब्ध गराउँदै आएको छ।

     

    विद्यालय, स्वास्थ्य चौकीको भौतिक पूर्वाधार विकास र सडकको स्तरोन्नतिका लागि बर्सेनि घाँस, दाउरा र काठ बिक्रीबाट आएको केही रकम लगानी गर्दै आएको छ। २०५८ सालमा स्थापना भएको सामुदायिक वनमा ५ सय ९६ उपभोक्ता छन्। सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ।साभार: थाहाखबर

    प्रतिक्रिया दिनुहोस


    नयाँ