२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

‘नयाँ यात्रामा श्वेता’

  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित १ महिना अघि
  • अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जालमा आइतबार मन छुने स्टाटस लेख्दै आफू विवाहबन्धनमा बाँधिन लागेको जानकारी गराएकी छन्।उनले आफ्नो स्टाटसमा विवाहमा सबैलाई समेट्न नसक्नुको कारण खुलाउँदै आफ्नो विगत केलाएकी छन् अनि भविष्यको योजना पस्केकी छन्।

    ‘जीवनका आरोहअवरोह, उकालीओराली, सुखदुःख अनि हाँसो रोदनका पलहरूलाई आत्मसात् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्ट सामना गरेकी छु, त्यसभित्रका कहालीलाग्दा अनुभव शब्दमा बयान गर्न असमर्थ छु’, श्वेताले लेखेकी छन्, ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेका अनेकन प्रहार र त्यसबाट  मैले भोगेका पीडा केवल मलाई मात्र थाहा छ।’

    ‘म आफैंसँग प्रश्न गर्थें, आफ्नै प्रश्नमा आफैं उत्तर दिन्थें, कि हुती हारेर मर्नुपर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ। अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाईनै रोजें। अनि जिन्दगीका हरेक समस्यासँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ’, उनले अगाडि लेखेकी छन्, ‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ। मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु। अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ। महिनै बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ। मनभित्र गाँठो परेर बसेका अव्यक्त बहलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थर टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ। तर मैले मेरा बह व्यक्त गर्ने  कोसँग ? मैले  साथीसंगीको भीडमा आँखा डुलाएर हेरें तर मेरो पीडा महसुसगर्न सक्ने कोही देखिनँ।’

    ‘आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडा भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दुःखद् अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु। त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पललाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन। तर मेरा परिवारका सदस्यको निरन्तर प्रयास अनि साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्वलगायत मेरा शुभचिन्तकले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु’, उनले आफ्नो स्टाटसमा समाजप्रति प्रश्न पनि उठाएकी छन्, ‘यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ, के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?’

    अभिनय, व्यवसाय र सामाजिक काममा सक्रिय श्वेता सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग विवाहबन्धनमा बाँधिन लागेकी हुन्। समस्यासँग डटेर लागिपर्ने श्वेतालाई नयाँ जीवनको अनेक अनेक शुभकामना।

    प्रतिक्रिया दिनुहोस


    नयाँ