२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • स्पिनर कविता जोशीले ह्याट्रिक सहित घातक बलिङ गर्दै पाँच विकेट लिएसँगै बागमतीलाई हराउँदै सुदूरपश्चिम लमहीमा जारी सगमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सुदूरपश्चिमले आफ्नो समूह चरणको अन्तिम खेलमा बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाए ।

    बागमतीकी युवा अलराउन्डर सुमन खतिवडाले २८ बलमा ४ चौका सहित सर्वाधिक २७ रन जोडेपनि जिताउन सकिनन् । सुदूरपश्चिमलाई सेमिफाइनलमा पुर्याउन कविता जोशीले नवौं ओभरमा ह्याट्रिक सहित चार विकेट लिदै जित सहज बनाइन् । बागमतीका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कविता कुवँरले पहिलो ओभरको दोस्रो बलमै ओपनर कन्चन श्रेष्ठलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । पाँचौ ओभरको तेस्रो बलमा स्पिनर कविता जोशीको बलमा विन्दा कटवाल ७ रनमा विन्दु रावलबाट क्याच आउट हुन पुगिन् । छैटौं ओभरको चौथो बलमा ऋतु कनौजियाले हेलिसा गुरुङलाई शून्यमा बोल्ड आउट गरिन् ।

    कविता जोशीको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेकी सुमन लङ अनमा कप्तान विन्दु रावलले क्याच लिएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । अर्को बलमा जोशीले अनिसा मजाकोटीलाई शून्यमा बोल्ट आउट गरिन् । चौथो बलमा क्यानुका बस्नेतलाई एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरिन् ।

    अन्तिम बलमा कविताले खुशी डंगोललाई एलबिडब्लू आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरिन् । सुजिता थापा शून्य र आरती बिडारी ३ रनमा आउट भइन् । कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् ।

    त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाए । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।

    डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।

    तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।

    लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।

    कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।

    समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । समूह ‘बी’ बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । प्रदेश १ ले दोस्रो खेलमा गण्डकीसँग खेल्दै छ । उक्त खेलमा प्रदेश १ विजयी भएमा सोझैं समूह विजेता बन्ने छ । पराजित भएमा नेटरनरेटमा निर्भर रहने छ । गण्डकी र बागमती भने बाहिरिएका छन् । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुने छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ