निर्वाचन आयोगमा विभाजित नेकपाका दुई समूहले आधिकारिकता र चुनाव चिन्हका लागि दौडधुप गरिरहेको बेला सरकारले त्यहाँस्थित कानून हेर्ने एक सहसचिवलाई सरुवा गरेको छ ।
निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको हो । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले मंगलबार एक ट्वीट गर्दै लेखे, ‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
आयोगमा दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभए पनि केवल १० महिनामै गौतमलाई कानून आयोगमा सरुवा गरिएको स्रोतले जनाएको छ । उनको स्थानमा गृहका कानून सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम गरेका सापकोटा यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत थिए ।
पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे निर्णय लिन गौतमले प्रचलित कानूनभन्दा बाहिर जान नसक्ने बताउँदै आएको आयोग स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस