२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

पूर्व प्रधानन्यायाधीशहरु सर्वोच्च पुगे : १५ गतेसम्म फैसलाको सम्भावना

  • २०७७ फागुन ३, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • अदालतको मानहानीमा पुर्जी काटिएका चार जना पूर्व प्रधान न्यायाधीश लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् ।

    उता प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसले अन्तिम रूप लिने क्रममा फैसलाको अनुमान गर्न थालिएको छ । श्रीमानहरूसँग निकट सम्बन्ध रहेको एउटा उच्च स्रोतले भनेको छ ‘फैसला सम्भवतः फागुन १५ गते हुन्छ ।’

    मोटामोटी तालिकाअनुसार आज सोमबार निवेदक पक्षको तर्फबाट थालिएको जवाफी बहस सकिन्छ । भोलिबाट तीन दिन एमिकसक्युरीका कानुन व्यवसायीले आफ्ना धारणा राख्ने छन् । बिहीबार एमिकस क्युरीको पालो सकिएपछि बहसमा सहभागी सबै कानुन व्यवसायीलाई बहस नोट बुझाउन एक साताको म्याद दिने तयारी देखिन्छ । त्यसो गर्दा फागुन १२ गते पुग्छ । इलजासका न्यायाधीशहरूलाई छलफल र निर्णय गर्न अर्को तीन दिन छुट्याउँदा फागुन १५ गते फैसला आउने उक्त स्रोतले दाबी गरेको हो ।

    त्यसैको सेरोफेरोमा रहेर केही दिनदेखि महान्यायाधिवक्ता अग्नि खरेलले राजिनामा दिने चर्चा व्यापक चलाइएको छ । ‘महान्यायाधिवक्ता खरेलले १५ गते राजिनामा दिने’ एकजना नायब महान्यायाधिवक्ताले बताए । केही दिनअघि महान्यायाधिवक्ता कार्यालयमा आयोजित एक अनौपचारिक छलफलमा बोल्दै खरेलले राजिनामाको संकेत गरेर भन्नुभएको थियो, ‘जति सकेको साथ दिएँ । अब फुर्सद लिने विचारमा छु ।’

    त्यहि क्रममा उहाँले आफ्ना कार्यालयका डेपुटी र विश्वस्तहरूलाई ‘अब आफ्नो ढंगले काम गर्नुस् है’ सम्म भन्न भ्याउनुभएको थियो । एकजना नायव महान्यायाधिवक्ताले निकालेको निचोडमा सम्भवतः अदालतको आदेश प्रधानमन्त्रीको प्रस्ताव अनुकूलको नआउने मनन गरेर नै उहाँले पदमा बसिरहँदा आफैँलाई घाटा हुने देखिएपछि त्यस्तो छनक दिनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस