२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

कोभिड भ्याक्सिन लगाएका कारण पेरुकी विदेशमन्त्रीले दिनुपर्यो राजीनामा

  • २०७७ फागुन ३, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटले कोभिड भ्याक्सिन लगाएका कारण राजीनामा दिनुपरेको छ ।

    उनले देशमा सरकारी खोप अभियान सुरु हुनु अघि र क्लिनिकल ट्रायल बाहिर कोरोनाको खोप लगाएको आइतबार स्विकार गरिन् । एलिजाबेथका अनुसार उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफार्माको भ्याक्सिन लगाएकी थिइन् ।यसको अघिल्लो दिन राष्ट्रपति फ्रानसिस्को सागस्तीले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजीनामा स्विकारेका थिए ।
    माजेटीले आफ्नो राजीनामा त्यतिबेला दिए जब पूर्व राष्ट्रपति मार्टिन विजकाराको समय अगावै भ्याक्सिन लगाएको भन्दै विवाद निम्तिएको थियो ।
    मार्टिन विजकाराले नोभेम्बरमा भ्रष्टाचराको आरोपका कारण आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । ताजा भ्याक्सिन विवादमा उनले भनेका छन्, ‘खोप लगाउनका लागि मैले कुनै लाइन तोडेको छैन । मैले ट्रायलमा समावेश भएर खोप लगाएको हुँ ।’

    यद्यपि, स्थानीय मिडियाले उनको यो दाबीमाथि प्रश्न उठाएका छन् ।

    एलिजाबेथ एस्टेटेले अघिल्लो वर्ष नोभेम्बरमा विदेशमन्त्रीको पद सम्हालेकी थिइन् ।

    उनले राजिनामा दिएपछि भनिन्, ‘मैले २२ जनवरीमा खोप लगाएको थिएँ । यो खोप मैले पेरुको एक युनिभर्सिटीको प्रस्तावमा लगाएको हुँ जुन पेरुमा चिनियाँ कम्पनी सिनोफार्माको ट्रायलको इन्चार्ज हो । यो खोप बाँकी भएको खोपबाट लगाएको थिएँ ।’

    उनले ट्वीटरमा लेखिन्, ‘मलाई थाहा छ कि मैले ठूलो गल्ती गरेको छु । त्यसैले मैले भ्याक्सिनको दोस्रो डोज लिएको छैन । तर यो गल्तीका लागि मैले राजीनामा दिएको छु ।’

    पेरुको सरकारले जनवरी २०२१ को सुरुवातमा सिनोफार्मामार्फत् कोभिड भ्याक्सिनका करिब तीन करोड ८० लाख डोज खरिद गर्ने घोषणा गरेको थियो ।

    एक हप्ताअघि पेरुले सिनोफार्माबाट तीन लाख डोज पाएको छ र यसै हप्ता मंगलबार पेरुमा आधिकारिक रुपमा खोप अभियान सुरु भएको छ ।

    सरकारी डाटा अनुसार पेरुमा कोभिड–१९ का कारण करिब ४४ हजारको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस