२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

२० लाख खोप किन्न एक अर्ब निकासा

  • २०७७ फागुन ६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • सरकारले खरिद गर्न लागेको २० लाख डोज खोप ‘कोभिशिल्ड’ खरिदका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेको छ । भारत सरकारले यसअघि अनुदानमा दिएको जस्तै ‘कोभिसिल्ड’ खोप नै खरिद गर्नका लागि मन्त्रालयले मंगलबार ५० करोड र बुधबार ५० करोड गरी एक अर्ब निकासा दिएको हो ।

    सरकारले खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग प्रतिभ्याक्सिन चार डलरमा खरिद गर्न लागेको छ । अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। रामप्रसाद घिमिरेले कोरोना कोषबाट तत्काल रकम उपलब्ध गराउन समस्या परेपछि अर्थ मन्त्रालयमार्फत भ्याक्सिन खरिदका लागि एक अर्ब निकासा गरएको जानकारी दिए । खोप खरिदको प्रस्तावसहितको फाइल स्वास्थ्य मन्त्रालयले सिधै अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिसकेको छ भने अर्थ मन्त्रालयले समेत दुई अर्ब विनियोजन गरिसकेको छ । कोरोना कोषबाट रकम दिनका लागि कार्यविधि बाधक भएपछि तत्काल भ्याक्सिन खरिद गर्नका लागि मन्त्रालयले निकासा दिएको हो ।

    भारतले प्रतिडोज चार डलरमा खरिद गरेकोले सोही मूल्यमा नेपाललाई उपलब्ध गराउन सरकारले प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयले भने खोप नेपाल ल्याउनका लागि तयारी भईरसहेको जनाएको छ । नेपालमा कोभिसिल्डबाहेक अन्य खोपले प्रयोगको अनुमति पाएको छैन भने यसअघि नै भारतले नेपालाई १० लाख डोज अनुदानको उपलब्ध गराएको थियो । सो खोप अत्यावश्यक सेवामा खटिने कर्मचारीहरूले लगाइरहेका छन् । चार लाख ३० हजारलाई अनुदानको खोप लगाउने सरकारको लक्ष्य छ ।

    हाल सो अनुदानको खोप अत्यावश्यक सेवामा जुटिरहेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, पत्रकार लगायतले लगाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस