२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

वैज्ञानिक भन्छन्– कोरोनाभाइरस प्रयोगशालाबाट लिक भएको कुरालाई अस्वीकार गर्न सकिँदैन

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • कोरोनाभाइरसको उत्पत्ति कसरी भयो भन्ने कुरा प्रष्ट नभइसकेकाले भाइरस प्रयोगशालामा बनाइएको मान्यतालाई अस्वीकार गर्न नसकिने वैज्ञानिकहरुले बताएका छन् ।

    १८ अग्रणी वैज्ञानिकहरुले साइन्स जर्नलमा एक लेख लेख्दै प्रयोगशालामा भाइरस बनाइएको सिद्धान्तलाई गलत साबित गर्ने प्रमाण नभेटिएसम्म यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका हुन् ।

    “महामारीको उत्पत्तिको विषय पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ,” लेखमा उल्लेख छ, “प्रयोगशालाबाट दुर्घटनावश लिक भएको र जुनोटिक स्पिलओभर ९जीवबाट सर्ने०का कारण संक्रमण फैलिएको भन्ने दुवै मान्यता व्यावहारिक छ ।”

    सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको यो भाइरसका कारण विश्वभर ३३ लाख ४० हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् भने अर्बौँ डलर बढीको क्षति भएको छ ।

    भाइरसको उत्पत्तिका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानले भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको सिद्धान्तमा सन्तुलित विचार राख्न नसकेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् । गत जनवरी र फेब्रुअरीमा विश्व स्वास्थ्य संगठन र चिनियाँ विज्ञहरुले चार हप्तासम्म भाइरसको उद्गमस्थल मानिएको वुहान सहरमा अध्ययन गरेका थिए । उक्त अध्ययनले भाइरस चमेराबाट अर्को जनावर हुँदै मान्छेमा संक्रमण भएको सम्भावना उच्च रहेको निष्कर्ष निकाल्दै प्रयोगशालामा भाइरस बनाइएको सम्भावना ज्यादै नगन्य रहेको बताइएको थियो ।

    भाइरसको उत्पत्तिलाई लिएर धेरै कन्स्पिरेन्सी थ्योरीहरु सार्वजनिक भएका छन् । तर, कुनै पनि सिद्धान्त पुष्टि भएको छैन । केही पश्चिमा देशहरुमा एसियालीविरोधी भावनाले उग्र रुप लिइरहेको छ ।

    “यद्यपि, आफ्नो जीवन दाउमा राखेर भाइरस संक्रमणको विविध जानकारी दिने पनि चिनियाँ डाक्टर, वैज्ञानिक, पत्रकार र नागरिक हुन् भन्ने कुरा बिर्सनु हुन्न,” लेखमा वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ