२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

खोप वितरणमा अमेरिकाको प्राथमिकता निम्न र मध्यम आय भएका मुलुक

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित १ महिना अघि
  • निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर आफूसँग भएको ८ करोड खोप वितरण गर्ने अमेरिकाले जनाएको छ ।

    अमेरिकासँग भएको खोपका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्‍नेमा अमेरिका दबावमा थियो । यद्यपि निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकता राख्नेमा सैद्धान्तिक निष्कर्षमा अमेरिकी अधिकारी पुगेका छन् ।

    भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताएकी छन्। उनले भनेकी छन्, ‘हामीले अहिले खोप वितरणका सम्बन्धमा निर्णय गरिसकेका छैनौं । तर हामीले विश्वको हरेक क्षेत्रलाई नजिकबाट हेरिरहेका छौं ।’

    उनले खोपको आपूर्तिका लागि जी(७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत बताएकी छन् । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ । उनले भारतका छिमेकी मुलुकहरुमा बढिरहेको आपत्कालीन अवस्थाको बारेमा समेत आफूहरुले नजिकबाट हेरिरहेको बताइन् ।

    विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ ।

    पहिला आफूसँग रहेको ६ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले दुई दिन अगाडि मात्र थप दुई करोड वितरण गर्ने घोषणा गरेको छ ।

    अमेरिकी अधिकारीहरुका अनुसार त्यसलाई अझ नबढाएमा विश्वव्यापी रुपमा आएको माग पूरा गर्न सकिंदैन । अमेरिकी राजनीतिज्ञ, नागरिक समाज र मिडियाले त्यहाँको नेतृत्वलाई विश्वव्यापी खोप अभियान सन्चालन गर्न दवाव दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ