२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

आज राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • काठमाडौं-मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

     

    असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।  दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको मानिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।

     

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।

     

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ। २०७६र७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ। नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ। यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो।

    प्रतिक्रिया दिनुहोस


    नयाँ